काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामे लगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा संवादमा सम्बोधन गरिने बताउनुभएको छ ।
थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्र सहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गर्नुभयो ।
आयोजक संस्था साथसाथै फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर थामे सम्मेलनपछि तयार पारेको प्रतिवेदन बुझाएको हो । साथसाथै फाउण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले भन्नुभयो,‘थामेलाई न्याय चाहिएको छ ।'
जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै संस्थाले वैशाखको दोस्रो हप्ता हिमपहिरोले प्रभावित क्षेत्रमा पुगेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गरेको थियो ।
यसैबीच आजै भएको गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटी : जस्टिस फर लस एन्ड ड्यामेज’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका सन्तति सुरक्षित र सम्मानित होऊन् भनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओली भन्नभुयो,‘थामेलाई सरकारले न्याय दिन्छ ।’
प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने जानकारी दिनुभयो ।