काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नूनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताउनुभएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नूनको कारोबार निजी क्षेत्रलाई सुम्पिने निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
उहाँले कर्पोरेशनले दिन नसकेको, पुर्याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौं भन्नेसम्मका सुझाव र छलफल गर्न सकिने बताउनुभयो । सरकार अहिले बजेटको पूर्वतयारीमा लागेको र कुनै निर्णय नभएको जानकारी गराउनुभयो । उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनले बिक्री गरिहेको नूनमा आवश्यक मात्राभन्दा बढी आयोडिन भएको गुनासो आएको भन्दै आफूले त्यसबारेमा पनि जानकारी लिएको बताउनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, “हामीले परिवार संख्या काउन्ट गरेर एउटा परिवारमा कति व्यक्ति हुन्छन् र वर्षभरि कति नून आवश्यक हुन्छ भन्ने अनुमान गरेर नै वितरण प्रणालीका बारेमा स्थानीय प्रशासनसँग छलफल गरेर नै अघि बढेका छौं । अहिले फेरि अनेक खालका अफवाह फैल्याएर लगिएको छ, यो आवश्यक छैन । सरकारले कुनै निर्णय गर्दा सुनिने देखिने गरी आउँछ नि । बजेटको पूर्वतयारीमा छौं । नीति तथा कार्यक्रम आएको छ । यसको नियमन गर्ने मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसको म मन्त्री । हामीलाई दिइएको सिलिङ वा मन्त्रालयसँग रहेका महाशाखा, संस्थानहरू जे जति छन् । क्याबिनेट, मन्त्रालयले गर्ला । तर त्यो कहीं कतै भएको छैन । तर समाचार सम्प्रेषण भएर आयो । यहाँ कुनै समस्या पनि भएको छैन । यसले दिन नसकेको, पुर्याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौं भन्ने हुन्छ, तर पनि त्यसरी समाचार प्रकाशित भएका छन् ।”