मनसुन आउनै लाग्दा पनि विपद् प्रतिकार्यको छैन तयारी, २० लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन

वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण
जेष्ठ ९, २०८२ |विकास आचार्य
मनसुन आउनै लाग्दा पनि विपद् प्रतिकार्यको छैन तयारी, २० लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । विभागले स्थानअनुसार सरदरभन्दा ३५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा र तापक्रम बढ्ने सम्भावना आकलन गरिरहँदा विपद्को प्रतिकार्यमा सरकारले कुनै योजना बनाएको छैन । जबकि गत वर्षको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित भएका थिए भने यो वर्ष करिब २० लाख मानिस प्रभावित हुने अनुमान छ । 

आखिर विपद्सँग जुध्न कस्ता योजना आवश्यक छ त ?

नेपालमा कुन महिनामा कस्तो प्राकृतिक विपद् आउँछ पहिल्यै थाहा छ । अझ अहिले त मौसम पूर्वानुमान विभागले नै यकिन प्रक्षेपण गर्ने गरेको छ । तर पनि हामी पूर्वतयारीमा सदैव चुक्ने गरेका छौं । सरकारी तथ्यांक भन्छ- मनसुनको समयमा विपद्‌मा परेर नेपालमा हरेक वर्ष चार सयभन्दा बढीको ज्यान जाने गरेको छ भने २० करोड डलरभन्दा बढीको भौतिक क्षति हुने गरेको छ । 

२०८१ सालको मनसुनमा २१ सयभन्दा बढी स्थानमा बाढी, पहिरो, भारी वर्षा र चट्यांकका घटना भए भने ४९५ ले ज्यान गुमाएका थिए । ६६ बेपत्ता भएका छन् । यति कहालीलाग्दो तथ्यांक हरेक वर्ष विपद्ले निम्त्याइरहँदा सरकारको भने अस्वाभाविक हेलचेक्र्याइँ गरिरहेको छ । जबकि विज्ञहरूले अबको १० देखि १२ दिनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने प्रक्षेपण गरिरहँदा मनसुन प्रतिकार्य योजना समेत सरकारले बनाउन सकेको छैन । जल तथा मौसम विभागले भने प्रिमनसुनमै सरदरभन्दा बढी वर्षा भइरहेकाले मनसुनमा हुने वर्षाले ठूलो क्षति पुर्‍याउन सक्ने पूर्वानुमान गरेको छ ।

गएको मनसुनले सबैभन्दा बढी सडक पूर्वाधारमा क्षति पुर्‍याएको थियो । त्योसँगै जलविद्युत्, खानेपानी र अन्य सरकारी तथा निजी आवासमा पनि ठूलो क्षति पुर्‍याएको थियो । यस वर्ष सडक विभागले ६ वटा राजमार्गका ३२ स्थानलाई उच्च जोखिमको सूचीमा राखेको र त्यसैअनुसार प्राथमिकता तय गर्ने गरी प्रतिकार्य योजना बनाइसकेको जिकिर गरेको छ ।

मौसमविद्हरूले भने यस वर्षको मनसुनको अवधिमा गत वर्षको भन्दा बढी प्राकृतिक प्रकोप बढ्ने जोखिमको आकलन गरेका छन् । उनीहरूले पूर्वतयारीका काम तत्कालबाट थाल्न सरकारलाई सुझाव दिएका छन् ।

नेपाल बहुप्रकोपीय जोखिममा पर्ने देशभित्र पर्छ । करिब ४० प्रतिशत विपद् भने मनसुनको अवधिमा हुने गरेको छ । यो अवधिमा बाढी, पहिरो, भारी वर्षा र चट्यांकका घटनाले धनजनको क्षति हुने गरेको छ । सरकारले ढिला नगरी प्रतिकार्यको तयारी थाल्न आवश्यक छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


OSZAR »