काठमाडौं । मनसुन सुरु भएसँगै कोशी प्रदेशका विभिन्न स्थानमा विपद् पनि सुरु भएको छ । झापाको मेचीनगर नगरपालिका वडा नं. १ सिद्धि खोलाले बगाउँदा इलामको रोङ गाउँपालिका वडा नम्बर ६ का ५६ वर्षिय भगिरथ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
विभिन्न खोला तथा नदीमा आएको बाढी र पहिरोले सडक र पुलमा क्षति भएको छ । बाढीले इलामको चुलाचुली- १ कुमाले खोलामा निर्माणाधीन पक्की पुल बगाएको छ । ढलान गर्न तयार गरिएको सेटिङको ‘बी’ भाग दबिएको र १० फिट लम्बाइ भएको पक्की वालमा समेत क्षति भएको हो । त्यस्तै इलामको माई नगरपालिका-७ खैरेनीस्थित महामाईबाट लारुम्बा जाने पक्की सडक पहिरोले अवरुद्ध भएको छ ।
यस्तै लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको मुलघाट-सिम्सुवाखण्ड सडक अवरुद्ध भएको सडक अपराह्नपछि एकतर्फी रूपमा खुलाइएको छ । साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा करिब ५० मिटर कालोपत्रे सडक बगाएको छ ।
त्यस्तै छहरे खोलाको बाढीले चौबीसे गाउँपालिका–४ मा तमोर करिडोर पनि भत्काएको धनकुटा प्रहरीले जनाएको छ ।