सिरहा । नेपाल-भारत सीमावर्ती क्षेत्रको आकाशमा ड्रोनजस्तो देखिएका वस्तु उपग्रह भएको पुष्टि भएको छ । भारतीय वायु सेनाले ती वस्तुहरू एलन मस्कको स्टारलिंकको उपग्रह भएको पुष्टि गरेको हो ।
गत सोमबार साँझ साढे ७ बजेको समयमा नेपाल-भारत सीमा क्षेत्रको आकाशमा ड्रोनजस्तै देखिने १५/२० वटा चम्किला वस्तुहरू एकैसाथ लहरै आकाशमा उडिरहेको देखिएको थियो । ती वस्तुहरू मधुबनी जिल्लाको जयनगरस्थित कमला सीमा चौकी क्षेत्रबाट देखिएको थियो ।
भारतीय सुरक्षा निकायकाअनुसार ती वस्तुहरू नेपाली आकाश हुँदै भारतीय भू-भागमा प्रवेश गरेका थिए । भारतीय आकाशमा करिब आधा घण्टासम्म अत्यधिक गतिमा फन्को मारेर फेरि नेपालतिरै ती वस्तुहरू फर्किएको भारतीय प्रहरीले जनाएको थियो ।
तर, यसको जाँच गर्दा ड्रोनजस्तो देखिने ती वस्तुहरू मस्कको स्पेसएक्सले विकसित गरेको स्टारलिंक इन्टरनेट सेवाका लागि पृथ्वीको न्यून कक्षमा प्रक्षेपण गरिएका स्याटेलाइटहरूको समूह रहेको पाइएको एक भारतीय सुरक्षा अधिकारीले जानकारी दिए ।
ती अधिकारीका अनुसार, यी स्याटेलाइटहरू सूर्य उदाउँदा र अस्ताउँदा ३० मिनेटसम्म देखिन सक्छ । 'तर, ती उपग्रहहरू अबदेखि यस क्षेत्रमा देखिने छैनन्,' ती अधिकारीले कान्तिपुरसित भने, 'किनकि, ती उपग्रहहरू पृथ्वीको अन्य भागमा सरिसके ।'