काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेताहरूले आफ्नो धारणा नै सार्वजनिक नगरी मौन बसेको भन्दै नेकपा एमालेका सांसदले असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ दलकै शीर्ष नेताहरूले नबोलेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते सरकारका तर्फबाट संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि एक सातासम्म १८ घण्टा भएको छलफलमा १३६ जना सांसदहरूले आफ्ना धारणा राख्दै सुझाव दिएका थिए । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले कुनै टिप्पणी गर्नुभएको थिएन ।
उहाँहरू नीति तथा कार्यक्रममा भएको छलफलमा मौन बस्नुभएको थियो । यसलाई लिएर एमालेका सांसदले असन्तुष्टि जनाएका हुन् । तर कांग्रेसका सांसद भने नीति तथा कार्यक्रममा मौन बसेको भन्ने आरोपलाई अस्वीकार गर्छन् ।
कांग्रेसका शीर्ष नेताहरू कुनै टिप्पणी नगरे पनि नीति तथा कार्यक्रम संसद्बाट पास भइसकेको छ ।