माओवादीलाई विमलेन्द्र निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस्

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
माओवादीलाई विमलेन्द्र निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्नुभएको छ ।

आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्नेकुरा निर्भर रहेको बताउनु भयो । संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन आग्रह गर्नुभयो । 

उहाँले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद् अवरूद्ध गराउनु राम्रो कुरा नभएको बताउनु भयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको बताउनु भयो ।

उहाँले राजा फर्काउने कुरा निरर्थक रहेको बताउनु भयो । नेपाली जनताले पटक-पटक राजालाई साथ दिएको भन्दै जति साथ दिएपनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिनुभएको बताउनु भयो । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »