तीन पुस्तादेखि बसोवास गरे पनि नेटुवा समुदाय नागरिकताको अधिकारबाट वञ्चित, जन्मदर्ता नहुँदा पढ्न पनि पाएनन्

वैशाख ३०, २०८२ |उपेन्द्र ठाकुर
तीन पुस्तादेखि बसोवास गरे पनि नेटुवा समुदाय नागरिकताको अधिकारबाट वञ्चित, जन्मदर्ता नहुँदा पढ्न पनि पाएनन्

पर्सा । नेपालमा बसोवास गरेको तीन पुस्ता बितिसक्दा पनि बारा फेटा गाउँपालिकाका नेटुवा समुदाय नागरिकताको अधिकारबाट वञ्चित छन् । अनागरिक भएर बाँच्नु परेका नेटुवा समुदायका बालबालिकाको जन्मदर्ता समेत नहुँदा शिक्षाको अधिकारबाट समेत वञ्चित छन् ।

बाँसको झाँङमुनि रहेको प्लास्टिकको पालको घर, अनि त्यही घरअगाडि धरतीलाई कागज मानेर सिन्काले आफू र आफ्नो बुबा दिलजानको नाम कोर्दै हुनुहुन्छ, ११ वर्षीया साबिया नेटुवा । साबियाको जन्मदर्ता छैन । नजिकैको विद्यालयमा तीन कक्षासम्म अध्ययन गरेकी साबियालाई जन्मदर्ता नभएकै कारण अहिले विद्यालयले भर्ना गर्न मानेको छैन । 

साबियाका तीन दिदीबहिनी र तीन दाजुभाइ छन् । जन्मदर्ता नभएकै कारण सबै शिक्षाको अधिकारबाट वञ्चित छन् । “हाम्रो जन्मदर्ता भएको छैन । विद्यालय गयो भने शिक्षकले जन्मदर्ता माग्छन् । घरमा आएर बुबास“ग जन्मदर्ता बनाउन भन्दा बन्दैन भन्नु्हुन्छ”, फेटा गाउँपालिका-१ की नाजिया नेटुवाले बताउनुभयो ।

बाराको फेटा गाउँपालिका-१ त्रिवेणीमा १७ घरधुरी नेटुवा समुदायको बसोवास छ । यहाँ झन्डै ५० जना बालबालिका छन् । तीमध्ये ३५ जना विद्यालय जाने उमेर समूहका छन् । तर कसैको पनि जन्मदर्ता छैन । जन्मदर्ता नभएकै कारण यिनीहरूलाई विद्यालयले भर्ना गर्न मानेको छैन ।

“यहीँ हजुरबुबा बितिसक्नुभयो । बुबा बित्नुभयो । अब हामी पनि बुढो हुने बेला भयो । हामी पढ्न सकेनौं । हामी आफ्नो बालबालिकको स्कुलमा नामाङ्कन गरायौं । तर अहिले जन्मदर्ता खोजेकोले उनीहरू पनि विद्यालय जान पाएका छैनन् । हामी जसरी अनपढ छौं, उनीहरू पनि त्यस्तै अनपढ हुने भयो”, फेटा गाउँपालिका-१ कि तसलिम नेटुवाले बताउनुभयो ।

पहिलो पुस्ताका रूपमा फेटा आएका महेन्द्र नेटुवाको चौथो पुस्ताले जन्म लिइसकेका छन् । बुबाआमाको नागरिकता नभएकै कारण बालबालिकाको जन्मदर्ता हुन पाएको छैन ।

भूमिहीन नेटुवाहरूसँग आफ्नो जग्गा छैन । सार्वजनिक जग्गामा यस्तै पाल टाँगेर बस्छन् । खुला आकाशमुनि खाना पकाउने र खाने गर्छन् । स्वच्छ खानेपानी र सरफाइको अभाव छ, खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता छ । नागरिकता नभएकै कारण नेटुवाहरू सरकारी सेवासँग सामाजिक र आर्थिक कारोबारबाट समेत वञ्चित छन् ।

सर्प समात्ने र गाउँ नगरमा सर्प देखाएर जीवन गुजारा गदै आएका नेटुवा समुदायका महिलाहरू बिहानको घरको काम सकेर जीविकोपार्जनका लागि सर्प बोकेर शहर पस्छन् । जसबाट यो समुदायको गुजारा चलेको छ । केही पुरुषहरूले शहरमा ज्याला मजदूरी गर्न थालेपछि खर र जस्ताको छानो भएको घर बनाउन सफल भएका छन् ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


OSZAR »