हिमालयन जाभा बास्केटबल लिगमा लगातार तेस्रो जितसहित हाउण्ड्स शीर्ष स्थानमा

वैशाख ३०, २०८२ |खेल ब्युरो
हिमालयन जाभा बास्केटबल लिगमा लगातार तेस्रो जितसहित हाउण्ड्स शीर्ष स्थानमा

काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार तेस्रो जित हात पारेको छ ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले सामाखुसी युथ क्लबलाई ९८-७२ ले पराजित गरेको हो । हाउण्ड्सले गत साता रोएल्स र टाइम्स बास्केटबल क्लबलाई पराजित गरेको थियो ।

लगातार तेस्रो जितपछि हाउण्ड्स ९ अंकसहित लिगको शीर्ष स्थानमा छ । सामाखुसीको भने यो लगातार तेस्रो हार हो । अंकविहीन सामाखुसी पुछारमा छ ।

सामाखुसी विरुद्ध सुरुवातदेखि नै अग्रता लिएको हाउण्ड्सले चारै क्वार्टर आफ्नो पक्षमा पारेको थियो ।

हाउण्ड्सले पहिलो क्वार्टरमा २६, दोस्रो क्वार्टरमा २३, तेस्रोमा २४ र चौथो क्वार्टरमा २५ अंक जोडेको थियो । सामाखुसीले चारै क्वार्टरमा समान १८ अंक जोडेको थियो ।

हाउण्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक स्कोर गरे । सामाखुसीका लागि विक्रम डंगोलले १५ अंक स्कोर गरे । खेलको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका दिप्सन केसी घोषित भए ।

एचजेबिएलमा बुधबार रोएल्स र टाइम्स बास्केटबल क्लब तथा गोल्डेनगेट बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



OSZAR »