१७ वर्षदेखिको खडेरी ताेड्दै टोटनहमले जित्याे युरोपा लिगकाे उपाधि

युरोपा लिगको फाइनलमा टोटनहमद्वारा म्यानचेस्टर युनाइटेड पराजित
टोटनहम अर्को सिजनको च्याम्पियन्स लिगका लागि पनि छनाेट
जेष्ठ ८, २०८२ |खेल ब्युरो
१७ वर्षदेखिको खडेरी ताेड्दै टोटनहमले जित्याे युरोपा लिगकाे उपाधि

काठमाडौं । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । टोटनहमले फाइनलमा प्रिमियर लिग प्रतिद्धन्दी म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गरेको हो । योसंगै उसले १७ वर्षदेखिको उपाधि खडेरी पनि तोड्यो ।

बिल्बाओ स्थित साम मेम्स स्टेडियममा सुरूवातमा दुवै टिमले संघर्ष गरेका थिए । पहिलो हाफले गोलरहित बराबरीमा सकिने संकेत गर्दै थियो । तर,  ४२औं मिनेटमा टोटनहमले डेडलक तोड्यो । 

उसका लागि वेल्स अन्तराष्ट्रिय ब्रेनन जनसनले गोल गरेका हुन् । सन २०१० यता युरोपा लिगको फाइनलमा गोल गर्ने उनी पहिलो वेल्स खेलाडी पनि हुन् । १-० गोलले पछि परेको युनाइटेडले ब्रेकपछि पनि पुनरागमन गर्न सकेन् । 

ब्रेननको गोलनै टोटनहमलाई ४१ वर्षपछि युरोपा च्याम्पियन बन्न पर्याप्त बन्यो । रास्मस होइलुन्डले बराबरी गोल फर्काउने मौका पाएपनि सफल भएनन् । इन्जुरी समयमा लुक सअको हेडर टोटेनहमका भिकारियोले उत्कृष्ट बचाउ गरेका थिए । 

टोटनहमले यसअघि २००८ मा लिग कप फाइनल जितेको थियो । यस्तै उसको १९८४ यताको यो पहिलो युरोपियन उपाधि हो । सो वेला च्याम्पियन बन्दाका केही खेलाडी बिल्बाओमा फाइनल हेर्न उपस्थित भएका थिए । 

यो सिजन टोटनहमले युनाइटेडविरुद्धका खेलेका तीनै खेलमा जित हात पार्यो । दश वर्षदेखि क्लबमा रहेका कप्तान सन हिउङ मिनको पनि करियरको यो पहिलो उपाधि हो । 

उनी युरोपियन उपाधि जिताउने दक्षिण कोरियाका पहिलो क्लब कप्तान हुन् । प्रिमियर लिगमा खराब प्रदर्शन गरेका प्रशिक्षक आन्ज पोस्टुकोग्लेलाई ठुलो राहत मिलेको छ । उनले दुई वर्षअघि अस्ट्रेलियाबाट एसियन कप जितेका थिए । 

यस्तै सेल्टिकलाई दुई पटक स्कटिस च्याम्पियन पनि बनाए । जितपछि टोटनहम अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनाेट भएको छ भने एक सय मिलियन पाउन्ड आर्थिक लाभ प्राप्त गर्नेछ । 

युनाइटेड भने २०१४-१५ को सिजनपछि पहिलो पटक युरोपियन प्रतिस्पर्धामा हुने छैन । रुवेन आमोरिमको टिमको १९७३-७४ पछि यो अहिलेसम्मकै खराब सिजन हो ।



OSZAR »