काठमाडौं । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल खेल रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगितामा तीन दिनको समाप्तिमा अब दक्षिण अफ्रिकालाई अस्ट्रेलियाविरूद्ध च्याम्पियनसिपको उपाधिको लागि ६९ रन मात्रै आवश्यक छ।
अहिलेसम्म आईसीसीको कुनै पनि उपाधि जित्न नसकेको दक्षिण अफ्रिकालाई आज इतिहास बनाउने अवसर छ। तेस्रो दिनको समाप्तिमा चौथौ इनिङ सुरू भइसकेको छ।
चौथो इनिङ्समा दक्षिण अफ्रिकाले दुई विकेट मात्रै गुमाएर दुई सय १३ रन बनाएको छ। अन्तिम इनिङमा उपाधिको लागि दुई सय ८२ रनको लक्ष्य रहेकोमा अब उसलाई ६९ रन मात्रै आवश्यक छ। यससँगै दक्षिण अफ्रिका पहिलो पटक आईसीसीको उपाधि नजिक पुगेको हो।
पहिलो इनिङमा अस्ट्रेलियाले २ सय १२ रन बनाएको थियो। तर दोस्रो इनिङमा दक्षिण अफ्रिकी ब्याटरको केही जोड चलेन। उसलाई अस्ट्रेलियाले एक सय ३८ रनमा नै अलआउट गरेको थियो।
लो स्कोरिङ टेस्टमा तेस्रो इनिङमा अस्ट्रेलियाले पनि २ सय ७ रन मात्रै बनाउन सक्यो। आज चौथो इनिङ्सको खेल दिउँसो सवा तीन बजे सुरू हुनेछ। खेलको अवधि १५ जुनसम्म रहे पनि ठूलो स्कोर बन्न नसक्दा चौथो दिनको सुरूआतमै सकिने देखिएको छ।
फाइनलको पहिलो इनिङ्समा कागिसो रबाडाले पाँच विकेट लिएका थिए। उनले १५ ओभर चार बलमा पाँच विकेट लिएका हुन्। त्यसैगरी, दोस्रो इनिङ्समा प्याट कमिन्सले १८ ओभर बलिङ गरेर २८ रन मात्रै खर्च गर्दै ६ विकेट आफ्नो नाममा गरेका थिए।
दुवै इनिङ्समा गरेर रबाडाले नौं विकेट लिइसकेका छन्। अहिलेसम्म एडन मारकरम एक सय २ रन बनाएर साथै टेम्बा बभुमा ६५ रन बनाएर क्रिजमा छन्। चौथो दिन यिनै खेलाडीले सुरुआत गर्नेछन्।