काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बुधबार एएफसी महिला एसियन कप छनोटको समूह चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको होस्टिङमा खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९-० को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली सुरूआत गरिसकेको छ ।
सो खेलमा कप्तान सावित्रा भण्डारीले ५ गोल गर्दा अनिता बस्नेत, सरू लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान १-१ गोल गरेका थिए । यस खेलमा पनि नेपाली टोली श्रीलंकाविरूद्ध जित निकाल्दै एसियन कपको मुख्य प्रतियोगिता नजिक पुग्ने लक्ष्यमा रहने छ ।
महिला अन्तर्राष्ट्रिय फुटबलमा श्रीलंकाले नेपाललाई हराउन सकेको छैन् । दुई टोलीबीच भएका सबै ८ खेल नेपालले जितेको छ ।
श्रीलंका आफ्नो पहिलो खेलमा आयोजक उज्वेकिस्तानसँग १०-० ले पराजित भएको थियो । पहिलो जितको खेजिमा रहेको श्रीलंकाका लागी नेपालविरूद्ध सहज भने हुने छैन् ।
नेपाल समूह 'एफ' को विजेता बन्न सके सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापानले प्रतियोगिताको लागि स्थान सुरक्षित गरिसकेका छन् ।