काठमाडौं । स्वास्थ्य मन्त्रालयको बजेट आगामी आर्थिक वर्षका लागि करिब १० अर्ब बढेको छ । दातृ निकायहरूले सहयोग कटौती गरिरहेको अवस्थामा अत्यावश्यकीय सेवाको निरन्तरताका लागि यसले केही भरथेग हुने मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
चालु वर्ष ८६ अर्ब २४ करोड बजेट रहेकोमा आगामी वर्ष ९५ अर्ब ८१ करोड विनियोजन गरिएको छ । तर १० अर्ब बजेट बढे पनि थुप्रै नयाँ कार्यक्रम गर्नुपर्ने अवस्था रहेकाले बजेट अझै पर्याप्त नभएको मन्त्रालयको भनाइ छ । दातृ निकायहरूले खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका क्षेत्रमा गर्दै आएको सहयोग रोकिएको र अस्पताल तथा सेवा विस्तारमा पनि ठूलो रकम खर्च हुने भएकाले यो बजेटले पनि आवश्यकता पूर्णमात्रामा सम्बोधन गर्न नसक्ने अधिकारीहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्नका लागि कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने माग गर्दै आइरहेको छ । तर बजेट ५ प्रतिशतको हाराहारीमा मात्र हुने गरेको छ । त्यसमाथि दातृ निकायले सहयोग कटौती गर्दा आधारभूत स्वास्थ्य सेवा नै प्रभावित हुन थालिसकेको स्वास्थ्य सेवा विभागले नै जनाइसकेको छ । तर यी समस्याका बाबजुद पनि प्राथमिकतामा आधारमा काम गर्ने मन्त्रालयले जनाएको छ ।