इजरायल र इरानबीचको घातक द्वन्द्व पाँचौँ दिनमा, एक अर्काविरूद्ध आक्रमण जारी

तत्काल तेहरान छाड्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
असार ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल र इरानबीचको घातक द्वन्द्व पाँचौँ दिनमा, एक अर्काविरूद्ध आक्रमण जारी

काठमाडौं । इरान र इजरायलबीच पाँचौँ दिन पनि घातक द्वन्द्व जारी छ । दुवै मुलुकले एक-अर्काविरूद्धको आक्रमणलाई झन् तीब्र पारेका छन् ।

हालसम्म इरानमा दुई सय २४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ । तेहरानमा इजरायलले आक्रमण जारी राखेको छ । साेमबार इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङको भवनमा समेत आक्रमण भएको छ । 

सरकारी स्वामित्वको प्रसारण सेवा केहीबेर अवरूद्ध भएर पुन: सञ्चालनमा आएको थियो । इजरायली सेनाले तेहरानको 'उत्तरी डिस्ट्रिक्ट थ्री'को एक क्षेत्रबाट निस्किन स्थानीयलाई निर्देशन जारी गरेको छ । अहिले तेहरानका सडकहरूमा ट्राफिक जाम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पनि तेहरान छाड्न आग्रह गर्नुभएको छ । ट्रम्पले इरान अब आणविक सम्झौतामा आउनेमा विश्वास व्यक्त गर्नुभएको छ । 

ह्वाइट हाउसकाअनुसार ट्रम्पले क्यानडा भ्रमण छोट्याएको बताइएको छ । ट्रम्पले मंगलबार जी सेभेनको साइडलाइनमा युक्रेनी र मेक्सिकन राष्ट्रपतिसँग तय भएका बैठकसमेत रद्द गर्नसक्ने सम्भावना रहेको ह्वाइट हाउसले जनाएको छ ।



OSZAR »