अमेरिकाले विदेशी विद्यार्थीका लागि फेरी दिन सुरू गर्यो भिसा आवेदनको स्वीकृति

सामाजिक सञ्जाल खाता सरकारी अनुगमनका लागि सार्वजनिक गर्नुपर्ने सर्त
असार ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले विदेशी विद्यार्थीका लागि फेरी दिन सुरू गर्यो भिसा आवेदनको स्वीकृति

काठमाडौं । अमेरिकाले अन्तरराष्ट्रिय विद्यार्थीहरूकालागि भिसाको अप्वाइन्टमेन्ट दिने कार्य फेरी सुरू गर्ने जनाएको छ । तर यसकालागि सबै आवेदनकर्ताले उनीहरुको सामाजिक सञ्जाल खाताहरूलाई सरकारी अनुगमनकालागि पब्लिक अर्थात् सार्वजनिक गर्नुपर्नेछ । 

अघिल्लो महिना अर्थात् मेमा अमेरिकाले विद्यार्थी भिसाकालागि नयाँ अप्वाइन्टमेन्टहरू दिने कार्य स्थगित गरेको थियो । अमेरिकी विदेशमन्त्रालयले विभिन्न देशमा रहेका आफना दुतावास र वाणिज्यदुतावासहरूलाई नयाँ निर्देशिका पठाएर भिसा अन्तर्वार्ताकालागि अप्वाइन्टमेन्ट दिने कार्य सुरू गर्न अनुमति दिएको हो । तर आवेदनकर्ता अमेरिकी सरकार, संस्था, आधारभूत सिद्धान्त, संस्कृति वा नागरिकप्रति शत्रुतापूर्ण दृष्टिकोण राख्ने व्यक्ति भए नभएको बारे विस्तृत अनुगमन गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएकोछ । 

त्यस्तै आवेदनकर्ता आतंककारी घोषित व्यक्ति वा अमेरिकी राष्ट्रिय सुरक्षाकालागि खतरा हुन सक्ने अन्य तत्वको पक्षधर भए नभएको र यहुदी विरोधी भावना भएको व्यक्ति भए नभएको कुराको पनि व्यापक निरिक्षण गर्न भनिएकोछ ।

यो अनुगमनअन्तर्गत आवेदनकर्ताको समग्र अनलाईन उपस्थितिको सुक्ष्म जाँच गरिनेछ । आफनो सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गर्न वा तिनिहरूको समिक्षा गर्न दिन अस्वीकार गर्ने आवेदकको आवेदन खारेज गर्न सकिने निर्देशन दिइएकोछ । 

यस्तो अस्वीकृतिलाई उनीहरूले आफना अनलाईन गतिविधि लुकाउन वा छल्न खोजेको संकेतका रूपमा लिइने उक्त निर्देशिकामा उल्लेख गरिएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गत मे २७मा अमेरिकी विदेशमन्त्रालयले विद्यार्थी भिसाकालागि आवेदन गर्नेहरूको सामाजिक सञ्जाल निरिक्षणलाई विस्तार गर्न लागिएको भन्दै नयाँ अप्वाइन्टमेन्ट दिने कार्य स्थगित गर्न आफना दुतावासहरूलाई निर्देशन दिएको थियो ।



OSZAR »