मध्यम वर्षामै काभ्रेको रोशी र खोपासी खोलाले निम्त्यायो विनाश

वैशाख ३०, २०८२ |पुजन धिताल
मध्यम वर्षामै काभ्रेको रोशी र खोपासी खोलाले निम्त्यायो विनाश

काभ्रे । प्रिमनसुनकै वर्षाले काभ्रेमा विनाश निम्त्याएको छ । अविरल वर्षापछि रोशी र खोपासी खोलामा आएको बाढीले सडक, कृषि लगायतमा धेरै क्षति पुगेको छ ।

रोशीको बाढीले सोमबारदेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आए पनि जोखिम कायमै छ । रोशी गाउँपालिका–१२, माम्तीस्थित बर्खे खोलामा बाढीले क्षति पुर्‍याएसँगै सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । पनौती नगरपालिका-३, ४, ५, ६, ७, ८, ९ र १० मा बाढी पसेको थियो । बाढीमा बेपत्ता पनौती सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

कृषि ज्ञानकेन्द्र काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बाढीले पाँच सय रोपनीभन्दा बढीमा लगाइएको आलु, मकै र गोलभेंडासहितको तरकारी बाली नष्ट भएको प्रारम्भिक विवरण आएको बताउनुभयो ।

प्रिमनसुनमै बाढीले विध्व‌ंस मच्चाएकोले बर्खायाममा निकै क्षति हुनसक्ने जोखिम बढेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


OSZAR »