रियालको जितपछि बार्सिलोनाको उपाधि जित्ने अवसर तत्काललाई टर्‍यो

जेष्ठ १, २०८२ |खेल ब्युरो
रियालको जितपछि बार्सिलोनाको उपाधि जित्ने अवसर तत्काललाई टर्‍यो

काठमाडौं । बार्सीलोनाले स्पेनिस ला लिगा उपाधिका लागि आज रातिसम्म कुर्नु पर्ने भएकोछ ।

रियाल मड्रिडले मायोर्का माथि २-१ गोलको पुनरागमन जित हात पारेपछि बार्सिलोनाको आफ्नो खेल अघिनै उपाधि जित्ने अवसर तत्काललाई टरेको हो । 

सान्टियागो बर्नाबेउमा गएराति भएको खेलमा रियाल १-० गोलले पछि परेको स्थितिबाट खेलमा फर्कियो । एघारौं मिनेटमा पाहुना टिमका मार्टिन भालेन्टले गोल गरेपछि रियाल पहिलो हाफमा १-०ले पछि परेको थियो । 

ब्रेकपछि कार्लोस एन्सेलोटाीको टिमले उत्कृष्ट प्रदर्शन गर्यो । ६८औं मिनेटमा लुका मोड्रिचको सहयोगमा किलियन एम्बाप्पेले गोल गर्दै खेल १-१को बराबरीमा पुर्याए । यहि नतिजाका साथ खेल सकिन लाग्दा बार्सीलोना च्याम्पियन बन्नबाट सेकेन्डले टाढा थियो । 

तर, इन्जुरी समयमा ज्याकोबो रोमनले गोल गरेपछि रियाल विजयी भयो । ज्याकोबोको ला लिगामा यो केवल दोस्रो खेल हो । बार्सीलोनाले आज राति स्पानियोलसँग प्रतिस्पर्धा गर्दैछ । ला लिगा उपाधिका लागि हान्जी फ्लिकको टिमलाई मात्र एक अंक पर्याप्त हुनेछ । यो सिजनका चार वटै एल क्लासिकोमा बार्सीलोना विजयी भएको थियो ।



OSZAR »