कास्की । नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए लिगको महिलातर्फको उपाधिका लागि न्यू डायमन्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । आज भएको लिग चरणको चौथो खेलमा जित हासिल गरेर न्यू डायमन्डले फाइनलमा स्थान बनाएको हो ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको खेलमा न्यू डायमन्डले नेपाल एपीएफ क्लबलाई सोझो सेटमा हराएको हो। न्यू डायमन्डले सोझो सेटमा जित निकालेसँगै पुलिसको पनि फाइनल यात्रा तय भएको हो । यससँगै अब पुलिस र न्यू डायमन्डले काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पधा गर्न पाउने भएका छन्। च्याम्पियनसिपमा पुलिस यसअघिको विजेतासमेत हो ।
आजको खेलमा न्यु डायमन्डले एपीएफलाई पहिलो सेटमा २५-१८ ले हराएको थियो। त्यसपछिका दुई सेटमा २५-२२ र २५-१६ को जितसहित न्यू डायमण्डले खेल जितेको हो। लगातारको चौथो जितपछि १२ अंकसहित न्यू डायमण्ड शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको ११ अंक छ ।
आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रतियोगिताबाट बाहिरिइसकेको कर्णाली प्रदेशलाई हराएको छ। प्रतियोगितामा सान्त्वना जित हात पारेको आर्मी भने यसअघि नै बाहिरिसकेको छ। उसले आजको खेलमा रवाफिलो जित हात पार्यो ।
पहिलो सेट २५–१३ ले जितेको आर्मीले दोस्रो सेटमा कर्णालीलाई खेलमा सेट हुनै दिएन। यो पटक आर्मीले २५-६ को जित निकाल्यो। तेस्रो सेट २५-१५ ले विजयी भएर खेल जितेको हो। आर्मीले लिगभरीमा जम्मा चार अंक मात्रै जोड्न सक्यो। कर्णाली प्रदेशले भने अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो ।
लिग चरणको अन्तिम खेल भोलि हुनेछ भने बिहीबार फाइनल र तेस्रो स्थानको लागि खेल हुनेछ ।